सुदूरपश्चिम प्रदेशको परिचय
बि.स. २०३९ साल सम्म यो क्षेत्र मध्यपश्चिमाञ्चल अन्तर्गत रहेको थियो । बि.स. २०३९ सालमा सुदूरपश्चिमाञ्चल क्षेत्रको रुपमा अलग अस्तित्व लिएर स्थापित भएको हो । भौगोलिक बनावटका हिसाबले यस क्षेत्रलाई तराई खण्ड, चुरे श्रृंखला, बेशी, भित्रि मधेस ,पहाडी खण्ड ,लेकाली र हिमाली खण्ड गरी ७ भागमा विभाजन गरिएको थियो । नेपालको संविधान २०७२ अनुसार संघीय राज्य घोषणा गरे अनुरुप ७ प्रदेश मध्येको सुदूरपश्चिम प्रदेश एक प्रदेश हो । नेपालको ७ वटा प्रदेश मध्ये सुदूरपश्चिम प्रदेशमा साविकको महाकाली अञ्चलका ४ वटा जिल्ला र सेती अञ्चलका ५ वटा जिल्ला गरी ९ वटा जिल्लाहरु रहेका छन । भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराईलाई समेटको छ । नेपालको कुल क्षेत्रफल मध्ये सुदूरपश्चिम प्रदेशले १३.२७ अर्थात १९,५३९ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यस प्रदेशमा पहाडी तथा हिमाली भाग बढी रहेको छ । यस प्रदेशको सीमाना पूर्वमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट र मुगु जिल्ला तथा लुम्बीनी प्रदेशको बर्दिया जिल्ला पर्दछ । पश्चिम र दक्षिणमा भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा मित्र राष्ट्र चिनको स्वशासित क्षेत्र तिब्बत रहेको छ । यस प्रदेश रहेका ९ वटा जिल्ला अन्तर्गत १ उप- महानगरपालिका, ३३ नगरपालिका र ५४ वटा गाउँपालिका गरी जम्मा ८८ वटा स्थानीय तह रहेका छन । बि.स. २०७८ को जनगणना अनुसार यस प्रदेशको कुल जनसंख्या २६,९४,७८३ रहेको छ । यस प्रदेशका मुख्य नदीहरु मध्ये सेती र महाकाली ठुला नदिहरु हुन । घोडाघोडी ताल, सुर्मा सरोबर ताल, झिलमिला ताल, वेदकोट ताल, खप्तडदह मुख्य पर्यटकिय क्षेत्र हुन भने बढीमालिका, बझाङ सुर्मा देवी, दार्चुला मालिकार्जुन, लटिनाथ, बैतडी त्रिपुरा सुन्द्ररी, निङगालाशैनी, डडेल्धुरा उग्रतारा, अछाम बैजनाथ, डोटी शैलेश्चरी, कञ्चनपुर शिद्धनाथ, कैलाली गोदावरी, शिवपुरीधाम, प्रमुख धार्मिकस्थल हुन । यस क्षेत्रका प्रमुख पर्यटकस्थलहरुमा खप्तड, बुढीनन्दा, शुक्लाफाँटा, अजयमेरुकोट, कर्णालीपुल, दोधारा झोलुङगे पुल, अपी हिमाल, साईपाल हिमाल, रामारोसन क्षेत्र प्रमुख पर्यटकिय गन्तब्य स्थल हुन ।
सुदूरपश्चिम प्रदेश १०९ मिटर देखी ७१३२ मिटर सम्म उचाई र २८° २२” उत्तरी अक्षांश देखि ३०° ०९” उत्तरी अक्षांश र ८०°०३” पूर्वी देशान्तर देखि ८१° २५” पूर्वी देशान्तर सम्म फैलिएको छ । यस प्रदेशको सबैभन्दा अग्लो भू-भागको रुपमा अपि हिमाल (७,१३२ मीटर) र होचो भू-भागको रुपमा कैलाली जिल्लामा (१०९ मिटर) रहेको छ । यस प्रदेशको सिमाना पूर्वमा कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोट र मुगु जिल्ला तथा लुम्विनी प्रदेशको बर्दिया जिल्ला पर्दछ । पश्चिम र दक्षिणमा भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा मित्र राष्ट्र चीन रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको स्थापना
स्थापना :- बि.स.२०३९ सालमा क्षेत्रीय प्रहरी कार्यालय दिपायलको स्थापना,
बि.स. २०७४।५।१५ गते ७ नं. प्रदेश प्रहरी कार्यालयको स्थापना
बि.स. २०७५।०७।३० गते सुप.प्र.प्र.का.दिपायलको नामबाट संचालन
बि.स. २०७७।१२।२९ गते धनगढी स्थानान्तरण भई सुप.प्र.प्र.का. धनगढी, कैलालीको नामबाट कार्यालय सञ्चालन भईरहेको
सिमाना :- पुर्व:- कर्णाली र लुम्वीनी प्रदेश
पश्चिम:- भारत
उत्तर:- चिन
दक्षिण:- भारत
भारतसंग दुरी :- ४५९.२ कि.मि. कैलाली – १०१ कि.मि., कञ्चनपुर १२९.५ कि.मि., डडेल्धुरा ४२.७ कि.मि., दार्चुला १२५ कि.मि. र बैतडी ६१ कि.मि. रहेको ।
चिनसंग दुरी:- ४९.५ कि.मि. बझाङ २२.५ कि.मि. र दार्चुला २७ कि.मि. रहेको ।
जम्मा क्षेत्रफल:- १९,५३९ बर्ग कि.मि
कुल जनसंख्या जनगणना २०७८ को आधारमा:- २६,९४,७८३ रहेको
महिला:- १४,२१,९९७
पुरुष:- १२,७२,७८६
जम्मा:- २६,९४,७८३
प्रति प्रहरी अनुपात:-४६० जना
जिल्ला:- ९ (नौ) कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुला
स्थानिय तह: ८८ वटा म.न.पा.: - / उप- म.न.पा.: १ /न.पा.: ३३ /गा.पा.: ५४
निर्वाचन क्षेत्र:- १६ वटा
मुख्य पेशा :- कृषि:-पशुपालन, खेतिपाती अन्य:- नोकरी, व्यापार, उद्योग
मुख्य नदि:- सेती, महाकाली, कर्णाली
मुख्य ताल:- घोडाघोडी ताल कैलाली, बेतकोट ताल कञ्चनपुर, जोखर ताल कैलाली, छतिवन ताल डोटी ।
हिमाल:- अपि हिमाल दार्चुला, सैपाल हिमाल बझाङ ।
मुख्य चाडपर्व :- गौरा, दशै, तिहार, तिज, होली, माघी, भुवा, ओल्के, ऐटवारी ।
मुख्य धार्मिकस्थल:- उग्रतारा मन्दिर डडेल्धुरा, शैलेश्वरी मन्दिर डोटी, मालिकार्जुन मन्दिर दार्चुला, गोदावरी धाम कैलाली, शिवपुरी धाम कैलाली, बेहडाबाबा मन्दिर कैलाली, खप्तड डोटी, बैजनाथ मन्दिर अछाम, बडिमालीका बाजुरा, सुर्मा देवी बझाङ, त्रिपुरा सुन्दरी बैतडी ।
राष्ट्रियनिकुञ्ज:- खप्तड राष्ट्रिय निकुञ्ज डोटी, अछाम र बझाङ, शुक्लाफाटा राष्ट्रिय निकञ्ज कञ्चनपुर, अपि नम्पा संरक्षण क्षेत्र ।
आर्थिक स्थिति
भौगोलिक दृष्टिकोणले २ जिल्ला बाहेक ७ जिल्ला पहाडी भू-भागले समेटिएको यस प्रदेश बासिन्दाहरुको मुख्य पेशा कृषि नै रहेको छ । पर्याप्त मात्रामा खेती गर्ने उब्जाउ जमिनको अभाव, खेती गर्ने पुरानै परम्परागत शैली र यस प्रदेश औद्योगिक क्षेत्र पनि नभएका कारण आफ्नो जिवीकोपार्जन गर्नका लागि कामको अवसरको खोजीमा पहाडी जिल्लाबाट धेरै जसो व्यक्तिहरुले तराईको जिल्लामा बसाई सराई गर्नु परेको छ, भने भारत तर्फ पनि रोजगारीको लागि पलायन हुनु पर्ने बाध्यता रहेको छ । भौतिक विकासका कार्यक्रम अन्य प्रदेशको तुलनामा न्यून रहेको, यस प्रदेशमा काम गर्ने पुरानै शैली, रुढीवादी, अज्ञानता तथा अशिक्षाको कारणले आर्थिक स्थिति कमजोर रहेको पाईन्छ ।
सामाजिक स्थिति
यस प्रदेशमा ब्राम्हण, क्षेत्री, दलित, आदिबासी जनजाति, दशनामी, मधेशी मुलका जाति समेतका मानिसहरुको बसोबास रहेको पाईन्छ । यहाँ छुवाछुत, देउकी प्रथा, जातीय भेद्भाव, वालबिबाह, बहुविवाह जस्ता प्रथालाई निरन्तरता दिदै आएको र छोरा, छोरीलाई समान अवसरमा भेदभाव गरेको पाईन्छ । यद्यपी यी माथि उल्लेखित कुरीतिहरुलाई हटाउनका लागि केही ऐन नियम बनेका भए तापनि व्यवहारिक रुपमा कार्यान्वयन तथा प्रयोग भएको पाईदैन ।
धार्मिक स्थिती
यस प्रदेशका ९० प्रतिशत मानिसहरु हिन्दु धर्म मान्ने गर्दछन् । उच्च हिमाली भेगमा बस्ने चिनका नाका क्षेत्र तिरका मानिसहरु तथा सडक बिस्तारका कारण अन्यत्र क्षेत्रबाट आई बसोबास गरेका करिब ५ प्रतिशत मानिसहरु बौद्ध धर्म मान्ने गर्दछन् भने व्यापार व्यवसायका लागि यस प्रदेशमा आई बसोबास गर्ने करिब ५ प्रतिशत मानिसहरुले अन्य धर्म मान्ने गरेको पाईन्छ ।
शैक्षिक अवस्था
विगतमा सबै स्थानहरुमा शैक्षिक संस्थाहरुको अभाव र न्यून आय श्रोतका कारण शहरमा बसी पढ्न नसक्ने भएकाले यस प्रदेशको शैक्षिक स्तर न्यून रहेको पाईन्छ । हालका दिनहरुमा शैक्षिक संस्थाहरुको बिस्तार संगसंगै यस प्रदेशका मानिसहरुको पढ्नु पर्छ भन्ने परिवर्तित सोचका कारण शैक्षिक अवस्थामा क्रमशः वृद्धि भईरहेको पाईन्छ ।
स्वास्थ्य
यस प्रदेश अन्तर्गत ७ वटा पहाडी जिल्लाहरु र २ वटा मात्र तराईका जिल्लाहरु भएका र पहाडी जिल्लाहरुमा विविध कठिनाईका कारण दरवन्दी भए पनि डाक्टरहरु कमै मात्रामा बस्ने गरेका हुँदा यहाँका मानिसहरु समयमा आवश्यक औषधि उपचारबाट बञ्चित हुनु पर्ने अवस्था रहेको छ भने अर्को तर्फ परम्परागत सोच र अन्धविश्वासका कारणले यहाँका मानिसहरु जुनसुकै विरामी पर्दा पनि धामी–झाँक्री माथि निर्भर रहने हुँदा सहि उपचार नपाईकनै ज्यान गुमाउनु पर्ने अवस्था रहेको पाईन्छ ।
पर्यटन
यस प्रदेशमा पर्यटन विकासको प्रचूर सम्भावना रहे पनि यातायात तथा प्रचार प्रसारको अभावका कारण उक्त व्यवसाय फस्टाउन सकेको देखिंदैन । पर्यटनको सम्भावना बोकेका यस प्रदेशका स्थानहरु– खप्तड, रामारोशन, घोडाघोडी ताल, बेतकोट ताल, शुक्लाफाँटा बन्यजन्तु आरक्ष, विभिन्न मठ मन्दिरहरु प्रमुख रहेका छन् ।